'श्रमिकको तलब वृद्धि कार्यान्वयन गर्न सकिँदैन' : उद्योग परिसंघ

काठमाडौँ - बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २०८० साउन १ गतेदेखि लागु हुनेगरी तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसकिने नेपाल उद्योग परिसंघले जनाएको छ ।

परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नयाँ पारिश्रमिक लागू गर्न नसकिने जनाएको हो । ‘सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा परिसंघको ध्यानाकर्षण भएको छ’, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र छैन ।’

अहिले मुलुकको अर्थतन्त्र मन्दीमा रहेको, बैंकको ब्याजदर उच्च रहेको, बजार माग सङ्कुचन भएको, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो रहेको परिसंघको भनाइ छ । अहिले औद्योगिक उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको र उद्योगी व्यवसायीले लगानीका योजना स्थगन गरिरहेको पनि परिसंघले जनाएको छ ।