स्यानिटरी प्याडको प्रयोगले महिलामा बाँझोपन र क्यान्सरको जोखिम: अध्ययन

काठमाडौँ - भारतमा बिक्री हुने स्यानिटरी प्याडमा यस्तो समस्या देखिएको डिल्लीस्थित गैरसरकारी संस्था टक्सिस् लिंकको अध्ययन ‘मिन्सुरल वेस्ट २०२२’ ले पुष्टि गरेको हो।

१० वटा नमूना (चार जैविक रूपमा उत्पादित र ६ वटा अजैविक) प्याडमा विषाक्त पदार्थ ‘फ्यालेट’ र ‘भोलेटल अर्गानिक कम्पाउन्ड’ भेटिएको छ।

‘फ्यालेट’ प्लास्टिकलाई लामो समयसम्म टिकाउन प्रयोग गरिने पदार्थ हो भने ‘भोलेटल अर्गानिक कम्पाउन्ड’ पदार्थलाई बाफमा राख्न प्रयोग गरिन्छ।

फ्यालेटको संक्रमणले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्छ। विशेष गरी इन्डोक्राइनमा समस्या आउने, मुटुमा असर देखिने, प्रजनन स्वास्थ्यमा प्रभाव पर्ने, मधुमेह र क्यान्सर समेत देखिन्छ।

त्यस्तै, भोलेटल अर्गानिक कम्पाउन्डले मस्तिष्कमा हानि, दम, अपाङ्गता, क्यान्सर तथा प्रजनन क्षमतामा खराबी ल्याउने खतरा बढाउँछ।

अध्ययन अनुसार, सबैभन्दा बढी फ्यालेट पदार्थ जैविक भनिने प्याडहरूमा पाइएको छ भने सबै ब्रान्ड र प्रकारका प्याडमा यो पदार्थ प्रयोग भएको पाइएको छ।

भारतमा प्रयोग हुने प्याडमा यूरोपियन युनियनको मापदण्डभन्दा ०.१ प्रतिशत फ्यालेट बढी प्रयोग भइरहेको अध्ययनले देखाएको छ।

नेपालमा पनि अधिकांश प्याड भारतबाट आयात हुने गरेको छ। आर्थिक वर्ष २०७८/७९ भारतबाट ११ करोड २२ लाख ५२ हजार ५९७ प्याड नेपालमा भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १६ करोड ९७ लाख ४२ हजार प्याड नेपालमा भित्रिएको थियो।
https://www.himalkhabar.com/news/133178