एलपी ग्यासको खपत निरन्तर घट्दो क्रममा

काठमाडौं - पछिल्लो समय खाना पकाउने ग्यासको खपत निरन्तर घट्ने क्रममा रहेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतीय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्यासको खपत घटेको हो।

नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्यास खपत भएको थियो। तर, चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँसमात्रै खपत भएको छ। जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो।

निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो। तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ।