हैजा संक्रमितको संख्या ५८ पुग्यो, काठमाडौंमा बढ्दै बिरामी

सन् २०२४ जुलाई १९ यता देशमा हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । अगस्ट १९ सम्म पाँच जिल्लाका ५८ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना बिरामी भएका छन् । गोदावरी र महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो साता काठमाडौंमा पनि हैजाका बिरामी बढेका छन् । अगस्ट १४ सम्म यसबाट काठमाडौंमा दुईजना मात्र संक्रमित थिए । पछिल्ला पाँच दिनमा काठमाडौंमा पाँचजनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा सातजनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका अनुसार, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको छ । संक्रमित हुनेमा २५ महिला र ३३ पुरुष छन् । १४ वर्षमुनिका नौजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।