गोरखाको सिरानचोक गाउँपालिका–१ स्थित नेपाने माविका तत्कालीन प्रधानाध्यापक साह भ्रष्टाचारी ठहर, तीन वर्ष कैद

विद्यालय भवन मर्मत र ल्याब स्थापनाका निम्ति भन्दै बजेट लिएर हिनामिना गर्ने तत्कालीन प्रधानाध्यापक शिवकुमार साहलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साहले विद्यालय भवन, विज्ञान र अरू प्रयोगशाला बनाउने भन्दै भ्रष्टाचार गरेको ठहर गरेको हो ।

गएको पुस २४ गते साह भ्रष्टाचारी ठहर गरिएको थियो । आइतबार सजाय निर्धारण गरिएको छ । साहको बिगो १३ लाख ३२ हजार २९२ कायम गरी सोबमोजिम जरिवाना र तीन वर्ष कैद सजाय निर्धारण गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

गोरखाको सिरानचोक गाउँपालिका–१ स्थित नेपाने माविका तत्कालीन प्रधानाध्यापक साहले ट्रस भवन निर्माणका निम्ति भन्दै १६ लाख १० हजार रुपैयाँ लिएका थिए । उनले विज्ञान, गणित र अंग्रेजी ल्याब बनाउन जिल्ला शिक्षा कार्यालयबाट एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यस्तै, तत्कालीन केराबारी गाविसबाट शैक्षिक सामग्री खरिदका निम्ति पाएको ७२ हजार २९२ र भवन निर्माण गर्न ल्याएको पाँच लाख रुपैयाँ उपभोक्ता समितिलाई दिएर बाँकी सबै रकम हिनामिना गरेको ठहर गरिएको छ । त्यसरी हिनामिनाको रकम विद्यालय व्यवस्थापन समितिको झुटा निर्णय र नक्कली बिलभर्पाइमार्फत भुक्तानी लिएको ठहर छ ।