कोसीमा विश्वमै संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटियो

कोसीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोसी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको जनाइएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस अरूणाचलेन्स वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण संघ (आयूसीएन)ले पृथ्वीबाटै संकटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ । 

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरूणाचलेन्स माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे । पाँचजना नेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरू वाङ हुई, जिनक्वान याङ र चेनहोङ लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगस्टमा सोसम्बन्धी लेख प्रकाशित छ । 

अनुसन्धानकर्ता जसहाङ लिम्बूले भने, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमुना संकलन गरेका थियौँ । सोही क्रममा उक्त माछा कोसी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो । यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ ।”

उनीहरूले अध्ययनका लागि तमोर र कोसीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट ७०० वटा नमुना संकलन गरिएको जानकारी दिए । उक्त नमुनामध्ये एउटा संकटापन्न प्रजातिको माछा भेटिएको हो । अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताए । 

नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम  इरेथिस्टेस सिकुलाहो । यो पनि कोसी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उनले बताए । उक्त सिकुला माछालाई पनि आईयूसीएनले ‘तथ्यांक अभाव’ भएको सूचीमा राखेको छ । यी दुवै माछा कोसी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उनले बताए ।

अनुसन्धानकर्ता लिम्बूले भने, “यस्तो दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइयो । यी दुवै माछा खानका लागि लोकप्रिय मानिन्छन् ।”अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताए । उनका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मंगोइज, अरूणाचलेन्स र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ । अरूणाचलेन्सलाई पहिला मंगोइज हो भनेर विश्वास गरिएको थियो । 

एक दशकअघि नेपालमा पाइने भनेर लेखिएका प्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डीएनए बारकोडिङबाट यथार्थ‍ पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ । तथ्यांकअनुसार नेपालमा पाइने माछामध्ये यसअघिसम्म तीनवटा प्रजाति अति संकटापन्न र सहर माछा संकटापन्नको सूचीमा थियो । अब एम्ब्लिसेप्स अरूणाचलेन्स पनि संकटापन्नको सूचीमा थपिएको हो । खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ ।