अमेरिका, पोल्याण्ड र जापान पठाउँछु भन्दै ४ करोड ठगी गर्ने म्यानपावरको लाइसेन्स खारेज

वैदेशिक राेजगार विभागले पोल्याण्ड, क्रोएसिया, जापान, कतार र अमेरिका समेतका देशहरूमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गर्ने एक म्यानपावरको लाइसेन्स खारेज गरेको छ ।

४३ जनालाई विदेश पठाइदिने भनेर ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको भन्दै वीस एचआर सोलुसन प्रालीको इजाजत पत्र खारेज भएको हो । सो म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फँडिन्द्र कोइराला समेतको मिलेमतोमा सरिता भुजेल लगायतका ४३ जनालाई पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाउने भनेर ठगी गरेका थिए ।

‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको इजाजत पत्र खारेजी तथा सोका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फँडिन्द्र कोइरालालाई सोही ऐनको दफा ४४ बमोजिमको सजाय हुने छ,’ वैदेशिक रोजगार विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ ।