नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा यथावत् छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । नेपालले फिफाको ‘सेप्टेम्बर विन्डो’मा म्यानमारसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलो खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको थियो । नेपालले दोस्रो खेलमा भने १–० को हार व्यहोरेको थियो ।
वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ । वरीयताको दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ । दक्षिण एसियाली वरीयताको दोस्रोमा रहेको माल्दिभ्स १५५औँ, चौथोमा रहेको भुटान १८४औँ, पाँचौँमा रहेको बंगलादेश १८९औँ, छैटौँमा रहेको पाकिस्तान १९७औँ र सातौँमा रहेको श्रीलंका २०२औँ स्थानमा छ ।