चिसाेका कारण जाजरकाेटमा एक महिने शिशुकाे ज्यान गयाे

चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो ।

चिसोका कारण केही दिनदेखि बिरामी भएकी छाेरीकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज साेमवार ज्यान गएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ जना पुगेको छ ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेका र ज्यान गुमाउने तथा सिकिस्त हुने क्रम बढेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।