प्रमाण-पत्रमा जन्ममिति सच्याउने सइलाई एक वर्ष कैद

नागरिकता र शैक्षिक प्रमाणपत्रमा मिति सच्याएको भन्दै नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ। आइतबार विशेषले सइ वीरेन्द्र महतोलाई झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको कसुरमा सजाय सुनाएको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ। 

विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि ३० कात्तिक ०७८ मा विशेषमा मुद्दा दायर भएको थियो।  उनी इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत रहँदा उजुरी परेको थियो। उनले प्रहरी जवान पदमा कार्यरत रहँदा नियुक्तिका बखतमै पेस गरेका प्रमाणपत्रहरू किर्ते गरेको भेटिएको थियो। 

ती प्रमाणपत्रअनुसार नै उनको सइ पदमा बढुवा भएको थियो। उनले शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति सच्याई राष्ट्रसेवकको ओहोदा पाई लाभ लिएको र राज्यलाई नोक्सानी पुर्‍याएको अभियोग लगाइएकोमा उनी कसुरदार पाइएका हुन्।