सामाजिक विकास इकाइ कार्यालय राजविराजका सब–इन्जिनियर अजय रजकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

सामाजिक विकास इकाइ कार्यालय राजविराजका सब–इन्जिनियर अजयकुमार साफी भनिने अजय रजकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । 

रजकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ७० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना सजाय माग गरेको छ । 

अख्तियारका अनुसार रजकले भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको थियो । 

तर, नियन्त्रणमा लिने क्रममा घुसबापत लिएको नगद १५ हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेक फ्याँकेर रजक फरार भएका थिए । त्यसपछि अख्तियारले नगद र चेक नियन्त्रणमा लिएको थियो ।