सिंगापुर एयरलाइन्सको  बोइङ ७७७–३०० ईआर विमान हवाई तुफानमा पर्दा एकजनाको मृत्यु, ३० घाइते

लन्डनबाट सिंगापुर गइरहेको सिंगापुर एयरलाइन्सको  बोइङ ७७७–३०० ईआर विमानको उडान एक्कासि आकाशमा एयर टर्बुलेन्स (हवाई तुफान)मा फस्दा एकजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । उक्त एयरलाइन्सका अनुसार उडानमा २११ यात्रु र चालक दलका १८ जना सामेल थिए । त्यसमा सबैभन्दा बढी ५६ जना अष्ट्रेलियाका नागरिक रहेका थिए ।  अन्यमा बेलायतका ४७, सिंगापुरका ४१, न्युजिल्यान्डका २३, मलेसियाका १६, फिलिपिन्सका ५, आयरल्यान्डका ४, अमेरिकाका ४, भारतका ३, इन्डोनेसिया, म्यान्मार, स्पेन र क्यानडाका २/२ तथा जर्मनी, इजरायल, आइसल्यान्ड र दक्षिण कोरियाका १/१ जना नागरिक रहेको एयरलाइन्सले जनाएको छ ।

लन्डनबाट सिंगापुर जाँदै गरेको उक्त विमान म्यान्मारको आकाश हुँदै उडिरहेको बेलामा अचानक तुफानमा परेको थियो । उक्त घटनामा निमानमा रहेका ७३ वर्षिय एक बेलायती नागरिकको मृत्यु भएको थियो । विमानलाई त्यसपछि थाइल्यान्डको बैंककमा उतारिएको थियो । बैंककका अधिकारीहरुले ती व्यक्तिको मृत्यु हृदयाघातका  कारण भएको हुनसक्ने जनाएका छन् । 

ती व्यक्ति पत्नीसँगै थिए । पत्नीलाई अहिले बैंकक अस्पतालमा भर्ना गरिएको छ । ३० यात्रुलाई अस्पतालमा भर्ना गरिएकोमा सातजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । एक यात्रीले जनाएअनुसार तुफानको समयमा कसैले पनि सीट बेल्ट लगाएका थिएनन् । त्यसैले धेरैजसो  सीधै विमानको छतमा ठोक्किएका थिए । एक यात्रुका अनुसार यात्रु आरामसँग विमानभित्र घुमिरहेका बेलामा  एक्कासी तुफानका कारण उनी स्वयं  छतमा ठोक्किएका थिए भने उनका छोरा निकै पर पछारिएका थिए । आवश्यक व्यवस्थापनका लागि सिंगापुर एयरलाइन्सको टोली मंगलबार राति बैंकक पुगेको थियो ।