घुस प्रकरणमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुव्वा नरहरि खनाल दोषी ठहर

घुस प्रकरणमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुव्वा नरहरि खनाललाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले खनाललाई दोषी ठहर गरेको हो । अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो बराबरको जरिवाना र ३ महिना कैद सजाय तोकेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा खनालविरुद्ध गत जेठ १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।