काठमाडौंसहित सातवटै प्रदेशमा बिहानैदेखि वर्षा

देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । 

काठमाडौंमा पनि वर्षा भइरहेको छ । मंगलबार साँझदेखि नै काठमाडौंमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुनेछ ।