भ्रष्टाचार गरेको आरोपमा वन उपभोक्ता समूहका अध्यक्ष सहितका पदाधिकारी विरुद्ध मुद्धा दायर।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको भुम्लु गाउँपालिका-४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ।  वन उपभोक्ता समितिको ९ लाख १३ हजार  २८० रूपैयाँ रकम हिनामिना गरेको आरोपमा समितिका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाइँ र कोषाध्यक्ष माधवप्रसाद चौलागाइँविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूविरूद्ध हिसाब-किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो।  उनीहरूले बदनीयत राखी आपसी मिलेमतोमा उपभोक्ता समितिको बैंक खाताबाट ९ लाख १३ हजार २८० रूपैयाँ झिकेको खुलेपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको मुद्दामा तीनै जनालाई कैद र हिनामिना भएको रकम बराबरको बिगो दाबी गरेको छ। सो वन उपभाेक्ता समितिका पदाधिकारी विरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा बिगो रु.९,१३,२८०।९० (नौ लाख तेह्र हजार दुई सय असी रुपैयाँ नब्बे पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा १७ ले निर्देश गरेबमोजिमको सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो रकम उनीहरुबाट असुल उपर हुनसमेत मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।