आजबाट न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न नपाईने

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए। महानगर प्रहरी प्रमुख पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए। ‘आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं,’ उनले भने।