भदौ १६ गतेदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोको आईपीओ खुल्ने

बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भइसकेको छ । 

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 

यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफेटवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।