राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध हुन्डी कारोबारसम्बन्धी मुद्दा दायर

भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध हुन्डी कारोबारसम्बन्धी मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धानले सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सिआइबीले अनुसन्धान गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा हुन्डी कारोबार खुलेको थियो।

अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको सिआइबीका एसपी होवीन्द्र बोगटीले बताए। उनका अनुसार एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको छ।

सो पैसा उनले अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतलगायतमार्फत कारोबार गरेका थिए। बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ। पौडेलले भ्रष्टाचारको पैसा सिंगापुरको बैंकमा राख्नेदेखि अमेरिकामा घर किन्नेसम्म गरेको अख्तियारको अनुसन्धानमा खुलेको थियो।