पूर्वमन्त्री एवं अपहरण तथा शरीर बन्धकको मुद्दा लागेका श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

पूर्वमन्त्री एवं अपहरण तथा शरीर बन्धक मुद्दाको मुद्दा लागेका श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

उनीमाथि ८५ लाख बराबरको बिगो धन सम्पत्तिसम्बन्धी शुद्धीकरणसम्बन्धी कसुर गरेको दाबी गर्दै सोही बराबर जरिवाना, दोब्बर बिगो अनि कैदको सजाय गर्न अभियोग पत्रमा माग गरिएको छ। प्रशान्तकुमार संघाईको जाहेरीले उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

पूर्वमन्त्री गुप्ताविरुद्ध यसअघि काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा विचाराधीन रहेको छ। प्रतिवादी गुप्ता समेतले अपहरण कसुरसहित  सम्बद्ध कसुरबाट फिरौतीको रूपमा प्राप्त गरेको कसुरजन्य सम्पत्तिलाई उत्पत्तिको गैरकानुनी स्रोतबाट अलग गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुन सक्ने  देखिएको भन्दै मुद्दा दोस्रो मुद्दा दायर गरेको हो ।

‘प्रतिवादीले सम्बद्ध कसुर गरी रकमको खण्डीकरण गरी स्वरूप परिवर्तन गरी १७ लाख ३० हजार बराबरको सुन खरिद गरेको, फिरौती रकम प्राप्त गर्नुको अतिरिक्त सो रकमबाट अन्य मानिसहरूलाई समेत रकम दिई बाँकी रकम निसर्ग समेत गरेको देखिए छ ’ अभियोग पत्रमा भनिएको छ ‘ अपराध तथा शरीर बन्धकको कसुरबाट प्राप्त गरेको फिरौती रकम सम्पत्तिको गैर कानुनी स्रोतको शुद्धीकरण गरेकाले निज प्रतिवादीले ८५ लाख बराबरको बिगो धन सम्पत्ति सम्बन्धी शुद्धीकरण सम्बन्धी कसुर गरेको देखियो ।’

गुप्तालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) (क) (ख) र (ग) तथा उपदफा (२),(३) बमोजिमको कसुर गरेको देखिएकाले हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ। त्यस्तै गुप्ताको नाममा दर्ता भएको वा २ च ९४५४ र वा ६ च ९१०६ समेत का दुई थान सवारी साधन सोही ऐनको दफा ३४ (१) (ख) बमोजिम जफत हुन समेतको माग दाबी  अभियोग पत्रमा गरिएको छ।