पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । बमजन सहकारीका पूर्वअध्यक्ष हुन् भने ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु राई (जीबी) का जेठान हुन् । सूर्यदर्शन सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको रिपोर्ट प्रहरीले निकालेको थियो ।
सोही सहकारी ठगी प्रकरणमा ठगी अन्तर्गत ३१ जना, सङ्गठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ । मुख्य अभियुक्त जीबी राई अझै फरार छन् भने रास्वपा सभापति समेत रहेका रवि लामिछाने सहित केहीलाई धरौटीमा रिहा गरिएको छ ।केही अभियुक्त भने पुर्पक्षका लागि कारागार चलान भएका छन् । अध्यक्ष रहँदा बमजनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । यद्यपि, उनले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको दाबी गरेका छन् ।
अदालतले मागेको धरौटी आइतबार नै बुझाएर बमजन धरौटी तारेखमा छुटेको कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । मुद्दा परेपछि बमजन फरार रहेकोमा आइतबार नै जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । सहकारीबाट अपचलन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाँको संयुक्त अभियोग पनि बमजनमाथि छ ।