मधेश प्रदेशको साइकल खरिद प्रकरण : तत्कालीन प्रदेश सचिव भुसाललाई ३ महिना कैदको फैसला

विशेष अदालतले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाललाई दोषी ठहर गरेको छ । मधेस प्रदेशका छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा दायर मुद्दामा बिहीबार फैसला सुनाउँदै अदालतले भुसाललाई दोषी ठहर गरेको हो । 

त्यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, धनुषाका तत्कालीन प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई पनि अदालतले दोषी ठहर गरेको छ । दोषी ठहर भएका भुसाल र झालाई अदालतले ३–३ महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना तोकेको छ । 

सो मुद्दामा एक कम्पनीसहित ४ जनाले सफाई पाएका छन् । सफाई पाउनेमा राजाराम मण्डल, रामस्वार्थ महतो, जितमोहनकुमार दास, रेणु अग्रवाल र श्रीओम सत्यसाई प्रालि रहेका छन् । 

माघ ८ गतेदेखि न्यायाधीश टेकनारायण कुँवरको नेतृत्वमा भएको सुनुवाईको विशेष अदालतले बिहीबार अन्तिम फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन १८ गते खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो ।  

तत्कालीन प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले लामो अनुसन्धान गर्दै भ्रष्टाचार भएको निष्कर्ष निकालेका थियो ।