बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साहलाई चार वर्षको कैद सजाय

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साहलाई चार वर्षको कैद सजाय सुनाइएको छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाुब श्रेष्ठको इजलासले आइतबार सजाय निर्धारणा गरेको हो ।

प्रतिष्ठानको हाताभित्र व्यवसाय सञ्चालन गरिरहेकाबाट विद्युत् महसुलबापतको रकम ३३ लाख २० हजार २२६ असुल गरी प्रतिष्ठानमा नबुझाएका साहलाई बिगोबमोजिम जरिवाना समेत हुने फैसला सुनाइएको छ । यही फागुन ६ गते कसुर ठहर गरेको इजलासले आइतबार सजाय निर्धारण गरेको हो ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० भदौ २५ गते मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारको मागबमोजिम नै साहलाई बिगोबमोजिम जरिवाना र कैद सजाय गरेको छ ।