सिरहाको कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा एक करोड आठ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा एक करोड आठ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतो, ठेकेदार कम्पनी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई अभियुक्त बनाएको छ । सरकारी अधिकारीका अतिरिक्त मुख्य कसूरदार ठेकेदार कम्पनी र तिनका आधिकारिक प्रतिनिधिलाई बिगो बराबर जरिवानाको माग लिइएको छ ।

आयोगका अनुसार, दनुवार र महतोले निर्माण व्यवसायीसँग सम्झौता गरी १ करोड ८ लाख रुपैयाँ पेस्की दिएका थिए । योजनाको निर्माण अवधि तथा ग्यारेन्टी म्याद समाप्त भइसकेको थियो । तर अवधि थप गर्ने वा बैंक जमानत जफत गर्ने पहल नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएका हुन् । 

उच्च अदालत जनकपुरको अन्यत्र कार्यालय स्थानान्तरण नगर्नू भनी दिएको आदेशविपरीप भवन निर्माण निम्ति बोलपत्र आह्वान भएको थियो । निर्माणस्थलको व्यवस्था नभइकन बोलपत्र आव्हान गर्न नहुने सार्वजनिक खरिद ऐनका प्रावधानविपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै भवन निर्माण ठेक्का लगाउँदै भ्रष्टाचार गरेको दाबी आयोगको छ ।

नगरपालिकाबाट पेस्की लिएपछि निर्माण कार्य शुरु नगरेको र ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पेस्की फिर्ता दाखिला नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोग ठेकेदारमाथि लगाइएको छ ।