आज एसइईको नतिजा सार्वजनिक हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहान सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन सम्भव भएन र अब बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ । 

१५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए । बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ । कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ ।

 बोर्डका अध्यक्ष शर्माका अनुसार प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ ।