आज गुरु नानक जयन्ती

कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराए । 
 
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक  जन्मजयन्ती मनाइने जनाइएको छ ।