आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै

काठमाडौँ - आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तरक्रिया  आयोजना गरी मनाइँदै छ । कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ नासलका अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउँछन् । 

‘नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ’, डा केसीले भने ।