धुलिखेल नगरपालिका एशियाको दोस्रो स्वस्थ शहर भएको डब्ल्यूएचओको घोषणा

 विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो र एशियाको दोस्रो स्वस्थ शहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ ।

सङ्गठनका प्रमुख डा.सुभाजी गुडले हिजो नेपालको पहिलो स्वस्थ शहर र एशियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गर्नुभएको हो । एशियामा पहिलो स्वस्थ शहर भारतको पुणेनगर बन्दा धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताउनुभयो ।

सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै पालिकाको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर यो घोषणा गरिएको जनाइएको छ ।

नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको थियो । पर्यटकीय धुलिखेल नगर ‘आरोग्य शहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी) अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो ।