एकीकृत समाजवादीको पदाधिकारीमा कोको भए निर्वाचित? हेर्नुहोस

एकीकृत समाजवादीको पदाधिकारीतर्फको मतगणना सकिएको छ। महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन्। त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन्। राईसँग रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिइन्। साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए। निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन्। 

उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन्।  आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन्। खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए। वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थिए। बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए।