ओभर घटाइएको खेलमा नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

काठमाडौं - एसीसी मेन्स प्रिमियर कप अन्तर्गत आज किर्तिपुरमा भइरहेको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा घटाइएको खेलमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । तर, उनी शतकबाट भने चुके । कुशल मल्लले ५७ रन बनाए । यस्तै कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, आरिफ शेखले १९ र सोमपाल कामीले १३ रन बनाए ।

कुवेतका लागि मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३–३ विकेट दिए । यासिन पटेल र सायद मुनिबले पनि समान १–१ विकेट लिए । अब केहीबेरमा कुवेतले जवाफी ब्याटिङ थाल्नेछ । यो खेलकोे विजेताले आजै मूलपानीमा युएइ र ओमनबीच भइरहेको अर्को सेमिफाइनलको विजेतासँग सोमबार फाइनल खेल्नेछ । फाइनलको विजेता एसिया कप खेल्न पाकिस्तान जानेछ ।