सिड्नीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थी सोमबार मृत भेटिएका स्थानीय प्रहरीले जनाएको छ। सोमबार साँझ २२ र २५ वर्ष उमेरका गोरखा र दोलखा घर भएका दुई नेपाली विद्यार्थी कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए। तर लाइफ ज्याकेट र सुरक्षित कवचबिना नै सामान्य पहिरनमा माछा मार्न गएका उनीहरूलाई पानीको छालको बहाबले समुद्रमा तानेपछि उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। बाल र निशले ज्यान गुमाएका हुन्।
हेलिकप्टर र स्थानीय मरिन र पारमेडिक्सको टोली उनीहरूलाई उद्धार गर्न खटिएको थियो। स्थानीय काउन्सिलद्वारा घोषित हाइरिस्क रक फसlङ क्षेत्रमा उनीहरू माछा मार्न गएता पनि आवश्यक सुरक्षित व्यवस्थापन नगरेका कारण पनि उनीहरूको ज्यान गएको हुनसक्ने स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्। यस वर्ष मात्र समुद्रमा डुबेर वा अन्य कारणले दशभन्दा बढी नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन्।