सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुने सम्भावना

नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेका वकिलहरूको बहस नसकिएपछि विहिवार पनि उनको मुद्दा शुक्रवारलाई सरेको छ।  जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा विहिवार लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस शुक्रवारलाई सारेका हुन्। आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन्। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्। न्यायाधीश ढकालले आज नै पनि फैसला सुनाउन सक्ने सम्भावना छ।

ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो। आजै बहस सकिएको खण्डमा फैसला आउन सक्नेछ। यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेसी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाइसकेपछि आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो।