दुई करोड ४४ लाख रुपैया जरिवानासहित सो बराबर बिगो असुलउपर गर्ने विशेषको फैसला, डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख इन्जिनियर जितेन्द्रकुमार चौधरीलाई गैरकानुनी सम्पत्ति आर्जनमा ६ महिना कैद

इन्जिनियर जितेन्द्रकुमार चौधरीलाई विशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ। डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख तथा सिडिई चौधरीलाई दुई करोड ४४ लाख रुपैयाँ जरिवाना र सोबरारबको सम्पत्तिबाट बिगो असुलउपर हुने फैसलामा उल्लेख छ।

२९ पुसमै विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजालसले उनीउपर कसुर कायम गरे पनि सोमबार सजाय निर्धारण गरिएको हो। उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार प्रतिवादी जितेन्द्रकी श्रीमती किरण र छोरा अभिषेकका नाममा रहेको सम्पत्तिबाट बिगोबराबरको रकम असुलउपर हुने भएको हो।

उनले झन्डै अढाई करोड रकमको वैध स्रोत देखाउन नसक्दा उक्त सजाय सुनाइएको हो। उनीविरुद्ध दुई मुद्दा रहेकोमा घुस लिएको मुद्दामा सफाइ र गैरकानुनी सम्पत्तिमा दोषी ठहर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को फागुन २ र ५ मा चौधरीविरुद्ध दुई मुद्दा दायर गरेको थियो। गैरकानुनी सम्पत्ति आर्जनमा चौधरीलाई सजाय र बाँकी दुईजनालाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो।

चौधरीले झन्डै चार करोड रुपैयाँ गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी थियो। उनले विराटनगरको डिभिजन प्रमुख हुँदा एक ठेकेदार कम्पनीसँग कमिसनबापतको रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए।

सेवाग्राही कम्पनीहरूबाट आयोजनाका लागि स्वीकृत रकमको निश्चित प्रतिशत रकम गैरकानुनी तवरले सिडिई चौधरीले लिएको खुलेको थियो। जसपछि अख्तियारले ३५ लाख रुपैयाँ घुस लिएको भन्दै मुद्दा चलाएको थियो। तर, यसमा उनले सफाइ पाएका थिए।