सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन विशेष अदालतको आदेश

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

आदेशपछि उनलाई डिल्लीबजार कारागारमा लगिएको छ । १० माघमा पक्राउ परेदेखि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा थिए । विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर नियुक्ति लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको छ । अहिले उनीविरुद्ध विशेष अदालतमा दुई भ्रष्टाचारका मुद्दा विचाराधीन छन् ।