टेलिकम कम्पनीको अफरमा कडाई, बर्षमा १०० ओटा फेस्टिभल र २५ ओटा प्रमोसनल अफर मात्रै ल्याउन पाउने

काठमाण्डौँ - अब नेपालका टेलिकम सेवाप्रदायकले बर्षमा सय ओटासम्म मात्रै फेस्टिभल अफर ल्याउन पाउने भएका छन् । 

अफरको नाममा विकृति फैलिएर उपभोक्ताले खासै लाभ पाउन नसकेको भन्दै नियामक दूरसञ्चार प्राधिकरणले अफरमा कडाई गरेको हो । नयाँ नियम अनुसार भ्वाइस सेवाप्रदायकले अब आर्थिक बर्षमा १०० ओटा फेस्टिभल अफर र २५ ओटा प्रमोसनल अफर मात्रै ल्याउने पाउने छ ।

यस्ता अफर ल्याउदा ७ दिनअघि नै प्राधिकरणमा जानकारी दिनुपर्ने र यी अफरको अवधि १५ दिनदेखि तीन महिनासम्म रहने बताइएको छ ।

सेवाप्रदायकले फेस्टीभल अफर र प्रमोशनल अफरको नामा दुई प्रकारका अफरहरु सार्वजनिक गर्न पाउँछन् । जुन एक पटकमा १० र एक आर्थिक बर्षमा १ सय ओटा अफर ल्याउन पाईने व्यवस्था छ ।

यस्ता अफर सेवाप्रदायकले ल्याउँदा हाल सेवाग्राहीले नियमित पाउँदै आएको सेवाभन्दा थप सहुलियत सहितको ल्याउनुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समय केहि सेवाप्रदायकहरुले कुनै एक अफरका लागि लिएको शुल्क स्वीकृती अन्य अफरहरुमा लागू गरिरहेको पाईएपछि प्राधिकरणले यस्तो कार्य पनि रोक्ने बताएको छ ।

कुनै एक प्रकृतिको लागि स्वीकृती लिएको अफरहरु अन्य प्रयोजनका लागि प्रयोग गरिए त्यसलाई अफरमा गणना नै गर्न नहुने व्यवस्था गरिएको छ ।

यस्तै एक सेवाप्रदायकले प्रमोशनल अफर उपभोत्ताले बुझ्नेगरी ल्याउन प्राधिकरणले निर्देशन समेत दिएको छ ।