बचत रकम अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा पक्राउ

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका पूर्व अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) पक्राउ परेका छन्। सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो। उनलाई चितवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।

कान्तिपुर सहकारीमा अध्यक्ष छँदा बचत अपचलन गरेको आरोप लागेपछि उनी फरार थिए। उनले दुई करोड रुपैयाँ ठगी गरेको भनी प्रहरीमा उजुरी परेको भट्टराईले बताए। काभ्रेका लामाले काठमाडौंमा कान्तिपुर सहकारी स्थापना गरेका थिए। सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन भएको पनि आरोप छ। कान्तिपुर सहकारीमा ८५२ जना बचतकर्ताको रकम डुबेको छ। हाल उनी पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष हुन्। यस सहकारीको पनि बचत रकम अपचलन गरेको आरोप लागेको छ।