रातभरीको भारी वर्षा काठमाडौं उपत्यकाका अधिकांश खोलामा बाढी

काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक निकारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ । ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै जिल्लामा मध्यमदेखि भारी वर्षा मापन भएको विभागले बताएको छ ।