३१ वटा युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ। मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो।

मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पिएनपि मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन्।

काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumbnail) सहितको शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने माध्यममाथि कारबाही अघि बढाएको विज्ञप्तिमा उल्लेख छ। यस्तै, मिडिया सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ वटा युट्युब च्यालनलाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।