३० वर्षे सेवा अवधि कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतको एकैपटक अवकाश

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतले एकैपटक अवकाश पाउने भएका छन् । सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश खारेज गरेसँगै आज नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि डीआइजीसम्मका अधिकारीले अवकाश पाउन लागेका हुन् ।

अवकाश हुनेहरुमा डीआइजी विष्णुकुमार केसीसहितका प्रहरी अधिकृतहरु छन् । गएको भदौ ६ गते सर्वोच्चका न्यायाधीश हरिकुमार फुयाँलको इजलासले नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन अन्तरिम आदेश दिएको थियो । २१ जना प्रहरी अधिकारीले दायर गरेको रिटका आधारमा यस्तो आदेश भएको थियो ।

आदेश कार्यान्वयन गर्दा प्रहरी सङ्गठनमा समस्या हुने भन्दै सरकारले त्यसविरुद्ध बुधवार पुनरावलोकन निवेदन दर्ता गरेको थियो । त्यही निवेदनमाथि न्यायाधीशद्वय विनोद शर्मा र सारङ्गा सुवेदीको हिजोको इजलासले पुरानो अन्तरिम आदेश खारेज गरिदिएको हो ।