बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात जना घाइते

ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको ज्यानसमेत गएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये चार जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार, ‘घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।’ उनले ज्यान गएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र ज्यान जानुको वास्तविक कारण जानकारी हुने बताए । घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान गएको हो । 

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (ईपीएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाई फायर गरेको थियो ।