‘जयकर्ण पुलामी खलकको वंशावली तथा कुलपूजा' पुस्तक विमोचन

काठमाडौं, २०८३ असोज ३, सुदर्शन पुलामीद्वारा लिखित ‘जयकर्ण पुलामी खलकको वंशावली तथा कुलपूजा' नामक पुस्तक राष्ट्रिय नाचघर, जमलमा एक समारोहबीच विमोचन गरिएको छ। नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष रक्ष बहादुर रैका मगरको प्रमुख आतिथ्य तथा नेत्र बहादुर पुलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका संस्कृतिविद्, प्राज्ञ, समाजसेवी तथा जयकर्ण पुलामी मगरलगायत मगर समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सांस्कृतिक संस्थानका पुर्व महाप्रवन्धक राजेश थापा, नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष टेक बहादुर नाम्जाली मगर, वरिष्ठ मादलवादक खर्क बुढा मगर, वरिष्ठ तवला बादक भरत बुढाथोकी मगर लगायतका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रा.डा. सोम प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. श्यामु थापा मगर, संस्कृतिविद् डा. प्रतिभा पुन मगर, वरिष्ठ संस्कृतिविद् तथा राजनीतिक विश्लेषक प्रेम कैदी, पुलामी मगर समाजका प्रमुख सल्लाहकार त्रिलोक सिंह थापा मगर तथा पुलामी मगर समाजका अध्यक्ष हेम बहादुर पुलामी मगरले पुस्तक तथा त्यसमा समेटिएका विषयवस्तुबारे धारणा राखेका थिए। त्यसैगरी नेपाल मगर संघका उपाध्यक्ष कविराज मगरले लेखक सुदर्शन पुलामीको व्यक्तित्व, लेखन तथा पुस्तक तयार पार्न गरेको प्रयासबारे प्रकाश पारेका थिए। कार्यक्रमको स्वागत मन्तव्य खिल बहादुर पुलामीले व्यक्त गरेका थिए। उनले पुस्तकमा समेटिएका विषयवस्तु तथा कार्यक्रममा सहभागी अतिथि र आगन्तुकहरूको स्वागत गरेका थिए।

पुस्तकमा जयकर्ण पुलामी मगर खलकको ११ औँ पुस्तासम्मको वंशावली, पुर्खाहरूको परिचय, विभिन्न पुस्ताका सन्ततिहरूको विवरण र ६ पुष्तासम्म छोरीचेलीको विवरण तथा विभिन्न स्थानमा भएको बसाइँसराइसम्बन्धी विवरण समेटिएको छ। साथै जयकर्ण पुलामी खलकको मूलथलो, उद्गमस्थल, पुर्ख्यौली इतिहास, कुलपरम्परा, संस्कार, रीतिरिवाज, चाडपर्व तथा कुलपूजासम्बन्धी परम्परागत अभ्यासहरूलाई समेत अभिलेखीकरण गरिएको छ।पुस्तकमा कुलपूजाको समय, विधि, आवश्यक सामग्री, पूजा प्रक्रियासँग जोडिएका सामाजिक तथा सांस्कृतिक मान्यता, कुलपूजामा सहभागी हुने तथा नहुनेसम्बन्धी परम्परागत विश्वास र कुलपूजापछि प्रसाद ग्रहण गर्ने प्रचलनलगायतका विषय समेटिएका छन्।

त्यसैगरी जन्म, न्वारन, छेवर, विवाह, मृत्यु संस्कार तथा अन्य सामाजिक संस्कार, विभिन्न चाडपर्वमा गरिने पूजा तथा परम्परागत गतिविधिका विषयमा समेत सामग्री समावेश गरिएको छ। मगर समुदायमा प्रचलित माघे सङ्क्रान्ति, कमतपूजा/गैडुपूजा, ब्रावा पूजा, दसैँ तथा माम्ती भीमसेनलगायतका धार्मिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित विवरण पनि पुस्तकमा समेटिएको छ।पुस्तकमा जयकर्ण पुलामी मगर खलकको बसोबास र विस्तारसँग सम्बन्धित काभ्रेपलाञ्चोकको महाभारत क्षेत्रबाट सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, ललितपुरलगायतका विभिन्न स्थानमा भएको बसाइँसराइ, विभिन्न शाखा–उपशाखा र तीसँग सम्बन्धित पारिवारिक विवरणलाई समेत समेटिएको छ।

यसका साथै पुलामी मगर समुदायको भाषा, भेषभूषा, गहना, खानपान, चाडपर्व, संस्कार–संस्कृति, सामाजिक परम्परा तथा मौलिक सांस्कृतिक पहिचानसँग सम्बन्धित विषयलाई समेत पुस्तकमा स्थान दिइएको छ। मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका कतिपय पारिवारिक इतिहास, कुलसम्बन्धी मान्यता र सांस्कृतिक अभ्यासलाई लिखित रूपमा सुरक्षित गर्ने प्रयास पुस्तकमा गरिएको लेखक सुदर्शन पुलामीले बताएका छन्।

कार्यक्रममा बोल्दै प्रा.डा. सोम प्रसाद खतिवडाले नेपाली समाजमा संस्कार, संस्कृति र परम्पराको महत्वबारे प्रकाश पारे। उनले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक संस्कार तथा सांस्कृतिक परम्पराको अभिलेखीकरणले समुदायको इतिहास र पहिचान संरक्षणमा योगदान पुर्‍याउने धारणा व्यक्त गरे। त्यसैगरी डा. श्यामु थापा मगरले वंशावली निर्माण तथा अभिलेखीकरणमा महिलाको भूमिकालाई समेत समेट्नुपर्नेमा जोड दिइन्। उनले हालसम्म प्रकाशित विभिन्न वंशावलीसम्बन्धी पुस्तकहरूमा पुरुष वंशक्रमलाई प्राथमिकता दिइएको सन्दर्भ उल्लेख गर्दै वंशावलीलाई पूर्ण र समावेशी बनाउन महिलाको योगदान र भूमिकालाई पनि दस्तावेजीकरण गर्नुपर्ने बताइन्।

त्रिलोक सिंह थापा मगरले पुलामी मगर समुदायको उत्पत्तिस्थल, पुर्ख्यौली इतिहास तथा विभिन्न कालखण्डमा भएको बसाइँसराइका विषयमा प्रकाश पारे। उनले समुदायको इतिहास, परम्परा र मौलिक सांस्कृतिक अभ्यासलाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता दस्तावेजको महत्व रहेको बताए। पुस्तक विमोचन समारोहमा महाभारत पर्वत शृङ्खलाको सेरोफेरोमा प्रचलित सोरठी, मादले तथा नाचसमेत प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिले महाभारत क्षेत्रको लोकसंस्कृति तथा मगर समुदायमा पुस्तौँदेखि प्रचलित गीत, संगीत र नृत्य परम्परालाई प्रस्तुत गरेको थियो भने कार्यक्रम संचालन स्वस्तिका पुलामी मगर र उर्मिला पुलामी मगरले गरेका थिए ।

कार्यक्रममा ‘जयकर्ण पुलामी खलकको वंशावली तथा कुलपूजा' पुस्तक सहभागीहरूलाई निःशुल्क वितरण गरिएको लेखक सुदर्शन पुलामीले जानकारी दिए। उनले पुस्तक बिक्रीभन्दा पनि जयकर्ण पुलामी खलकको वंशपरम्परा, कुलसंस्कार, इतिहास र सांस्कृतिक अभ्यासलाई समुदायका सदस्य तथा भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले पुस्तक तयार गरिएको बताए। पुस्तक प्रकाशनलाई जयकर्ण पुलामी खलकको वंशपरम्परा, कुलसंस्कार र सांस्कृतिक पहिचानलाई लिखित रूपमा संरक्षण तथा अभिलेखीकरण गर्ने प्रयासका रूपमा लिइएको छ। कार्यक्रममा वक्ताहरूले समुदायको इतिहास, संस्कृति, भाषा, परम्परा र वंशावलीसम्बन्धी सामग्रीको संरक्षण तथा अभिलेखीकरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

सुदर्शन पुलामी मगरले मगर समुदायको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण र दस्तावेजीकरणलाई पनि आफ्नो लेखनको महत्वपूर्ण क्षेत्र बनाएका छन्। नेपाल मगर संघद्वारा प्रकाशित “मगर समुदायको अभौतिक सांस्कृतिक सम्पदा” नामक पुस्तकमा उहाँको “कुलपूजा” शीर्षकको लेखसमेत प्रकाशित भएको छ। उहाँको लेखनको अर्को विशेषता स्थानीय समुदायमा पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका परम्परागत ज्ञान, सीप, संस्कार, भाषा, लोककला, बाजा, नृत्य, गहना, चाडपर्व तथा धार्मिक–सांस्कृतिक अभ्यासहरूलाई लिखित रूपमा सुरक्षित गर्ने प्रयास हो। यस क्रममा मगर समुदायमा प्रचलित मर्चा निर्माण, मारुनी नाच, सोरठी, खुर्पेटो, धनुषबाण, वनपूजा तथा अन्य सांस्कृतिक विषयसँग सम्बन्धित सामग्रीको सङ्कलन तथा लेखनमा समेत उहाँ संलग्न रहनुभएको छ।

सुदर्शन पुलामी मगरको लेखन र अभिलेखीकरणको उद्देश्य केवल व्यक्तिगत वंशावली तयार गर्नुमा सीमित नभई मगर समुदायको मौलिक इतिहास, संस्कृति र परम्परालाई भावी पुस्ताका लागि दस्तावेजका रूपमा सुरक्षित गर्नु रहेको देखिन्छ। विशेषगरी स्थानीय स्तरमा मौखिक परम्पराका रूपमा जीवित रहेका सामग्रीलाई सम्बन्धित समुदायका ज्येष्ठ व्यक्ति, जानकार तथा परम्परागत ज्ञानका वाहकहरूबाट सङ्कलन गरी लिखित अभिलेख तयार गर्ने कार्य उहाँको लेखकीय रुचिको महत्वपूर्ण पक्ष हो।