आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

आज वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै छ । ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड छ । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

भोटो जात्रालाई झन्डै आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।

किंवदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । किसानले दिएको औषधिबाट रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कार स्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । त्यसबेला भोटो हरायो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । हरेक वर्ष साइत हेरेर यो भोटो कस्को हो ? भनेर देखाउने गरिएको विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।