स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछाने, जिबी र छविसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको सिफारिस

जिल्ला प्रहरी परिसर, काठमाडौंले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, उनका पूर्व व्यावसायिक साझेदार गितेन्द्रबाबु राई र पूर्व डिआइजी छविलाल जोशी लगायत ४४ जनामाथि मुद्दा चलाउन सिफारिस गर्दै बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । 

स्वर्णलक्ष्मी सहकारी संस्थाका पाँच हजार ६६९ जना बचतकर्ताको दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ रकम अपचलन गरेको भन्दै अभियुक्त ४४ जनालाई प्रतिवादी बनाउने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।

स्वर्णलक्ष्मी सहकारीबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐन नियम विपरीत ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको छ।

स्वर्णलक्ष्मी सहकारीका सञ्चालकले सर्वसाधारणको निक्षेप हिनामिना गरेको भन्दै २०८१ वैशाख १६ मा बचतकर्ताले प्रहरीमा जाहेरी दर्ता गराएका थिए। उक्त सहकारीले दुई वर्षदेखि बचत रकम फिर्ता नगरेपछि बचतकर्ताले कालीमाटी प्रहरी वृत्तमा जाहेरी दर्ता गराएका थिए। बचत रकम फिर्ता नगरी सञ्चालकहरू फरार भएको भन्दै बचतकर्ताले आन्दोलनसमेत गरेका थिए।