साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले पनि ज्यान गुमाएका छन् ।
साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमवार कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दामा रहेको नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको ज्यान गएको हो ।
दुर्घटनामा ११ जना घाइते भएकोमा एक नेपाली इलामका सुकबहादुर लिम्बु रहेका छन् । लिम्बुको जिजानमा उपचार भइरहेको छ । अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने कामदार दुर्घटनामा परेका हुन् ।