बजेट कार्यान्वयन निराशाजनक ! ३६ वटा बुँदाको प्रगति शून्य

काठमाडौँ - बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालू वर्षको ७ महिनामा पनि शून्य प्रतिशत प्रगति देखिएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको अध्ययनले आर्थिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रममा सन्तोषजनक प्रगति नभएको देखिएको हो।

बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने उद्देश्यले सीएनआईले सेजनसँगको सह–आयोजना र पायोनियर ल एसोसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ सुरु गरेको थियो।

त्यसअन्तर्गत सीएनआईले आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरेको थियो। सेजनले ती बुँदाको कार्यान्वयन अवस्थाका सम्बन्धमा हालै अध्ययन गरी तयार पारेको विवरणले चालू वर्षको माघ मसान्तसम्म आर्थिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका नीति तथा कार्यक्रममा सन्तोषजनक प्रगति नभएको देखाएको हो।