‘छक्कापञ्जा ४’ फिल्मको भिडिओ क्लिप टिकटकभरी, निर्माताले गुहारे साइबर ब्युरो

काठमाडौं। बक्स अफिसमा कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ टिकटकमा पाइरेसी भइरहेको छ। शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले टिकटकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा ५ मिनेटसम्मका भिडिओ पोस्ट गरिरहेका छन्। महत्त्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिँदा निर्माता तनावमा छन्।

‘‘धेरै क्लिप्सहरू राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेको छ। यसलाई नियमन गर्नुपर्ने चुनौती भएको छ,’’ निर्माता तथा अभिनेता दीपकराज गिरी भन्छन्। फिल्म हलमा नै कर्मचारी खटाएर यसबारे कडाइ गर्नुपर्ने उनको माग छ।

टिकटकमा समस्या भएपछि निर्माताले हलहरूको छाता संस्था चलचित्र संघसँग आइतबार गुनासोसहित छलफल गर्न लागेका छन्। साथै, प्रहरीको साइबर ब्युरोसँग पनि यसबारे छलफल भइरहेको निर्माण पक्षले जनाएको छ।