नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले त्यसै निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम यस्तो निर्णय गरिएको टेलिकमले जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । यस्तै इन्टरनेट सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सूचीकृत हुन नआएका सामाजिक सञ्चाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयनको तयारी शुरु गरेको छ ।

आइस्पानको हिजो बसेको बैठकले प्राविधिक समितिलाई सक्रिय बनाउँदै आज दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि निर्णय कार्यान्वयन गर्ने जनाएको छ । दूर सञ्चार प्राधिकरणले हिजो पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, यूट्यूब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् । सरकारले सूचीकृत हुनका लागि सम्पर्क गर्न पछिल्लोपटक दिएको सात दिनको म्याद अस्ति राति सकिएको थियो ।

त्यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल कम्पनी सम्पर्कमा नआएपछि सरकारले निष्क्रिय बनाउने निर्णय गराएको हो । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुन थालेपछि धेरैजना भाइबर, टिकटक लगायतमा जोडिन थालेका छन् । फेसबुक, यूट्यूव, एक्ससहितका सामाजिक सञ्जालहरु निष्क्रिय गर्ने निर्णय गरेपछि सरकारको आलोचना पनि भइरहेको छ ।