प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ ।

‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ राष्ट्रियसभाको सन्देशसहित टेबुल हुनेछ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुनेछ । दुईवटा शोक प्रस्ताव र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।