एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

संघीय संसद्को सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको लेखा समितिको बैठकले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिइ शेयर खरिदबिक्री प्रक्रिया अघि बढाएको देखिएकाले रोक्नुपर्ने देखिएको निर्णयमा उल्लेख छ । यस्तै, लेखा समितिले एनसेल खरिदबिक्रीका विषयमा ४८ घण्टाभित्र सत्यतथ्य जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

बुधवारै बसेको संघीय संसद्को अर्थ समितिले पनि एनसेलको शेयर खरिदबिक्री प्रक्रियाका विषयमा यथार्थ जानकारी सहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटा लिमिटेडले शेयर खरिदबिक्री सम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी उपलब्ध गराउने भनी पठाएको पत्र प्राप्त भएको जानकारी गराएको छ । 

कारोबार शंकास्पद देखिएकाले प्राधिकरणले सूक्ष्म रूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालले बताए । अध्यक्ष खनालले एनसेल आजियाटालाई कानुनी कठघरामा उभ्याउन कानुनी अप्ठ्यारो रहेको बताएको छ ।

अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कानुन बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताए । मलेसियन कम्पनी आजियाटा ग्रुपले गएको मङ्सिर १५ गते एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो ।