पुस्तौंदेखि जोतभोग गर्दै आएका जग्गा अन्य व्यक्तिको नाममा दर्ता रोक्न माग गर्दै मालपोत कार्यालय घेराउ

सिराहा धनगढीमाई नगरपालिका - ३ हनुमाननगरका दलित, विपन्न, सुकुम्बासीले आफुूहरुले पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गालाई अन्य व्यक्तिको नाममा दर्ता  रोक्न माग गर्दै सिराहाको मालपोत कार्यालय घेराउ गरेका छन् । संघर्ष समितिको आह्वानमा आइतबार दिउँसो धनगढीमाई - ३ को वडाअध्यक्षसहितको सयौंको संख्यामा करिब दुई घन्टा मालपोत कार्यालय अगाडि प्रदर्शन गरे। 

तीन पुस्तादेखि जोतभोग गर्दै आएको जग्गा भुूमाफियाको मिलेमतोमा पूर्ववडाअध्यक्ष देवकुमार साहले सिराहा नगरपालिका - १७ माडरका  सत्यनारायण प्रसाद साहलाई हनुमाननगर प्र.ध. मौजाको एक सय पाँच बिघा जग्गामा हकभोग रहेको सिफारिस तीन वर्षअघि दिएका थिए । जग्गामा बसोबास सहित खनजोत गर्दै आएका ३३६ स्थानीय वासीले अन्य व्यक्तिको नाममा दर्ता रोक्न माग गरी मालपोत कार्यालयमा निवेदन दिएका छन् ।