कुखुरा ब्यवसायीकाे गृहमन्त्रीसँग गुनासाे, ‘स्विटकर्न र फ्रेन्च फ्राई भन्दै भारतबाट मासु ल्याइयाे’

काठमाडौं - भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिव १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए।

५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउदै आएको ब्यवसाय अबैध तस्करीले संकटमा परेको दुबै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए। ‘नेपालको पोल्ट्री क्षेत्रमा सबै भन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ। भारतीय सीमा नाकाहरुवाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेशालाई अत्यन्त ठुलो जोखिम रहेको छ’ दुबै संघले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ।

भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग मित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजश्व चुहावट समेत हुने गरेको उल्लेख छ। भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरुमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न आग्रह गरेका हुन्। नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरुबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ।